विराटनगर ६ भदौ । कोशी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गरेका छन् ।
सोमबारका प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखकोे भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्यले गैह्र संवैधानिक कार्य गरेको भन्दै दुवै दलले प्रदेश सभाको बैठक बहिस्कार गरेका हुन् ।
कोशी प्रदेश सभा अमर्यादित तवरबाट सञ्चालन भएकोको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले बहिस्कारको घोषणा गर्नुभएको थियो । राप्रपा सदनबाट बाहिरिएसँगै नेकपा एमालेका सांसद तिलप्रसाद मेन्याङ्बोले प्रदेश सभामा सभामुखको भूमिकामा रहेका व्यक्तिले संविधान उल्लङ्घन गरेकोले अमर्यादित तवरबाट सदन सञ्चालन भएको बताउनुभयो । संविधानमा नै उल्लेख नभएको सभामुखको आसनमा बसेको व्यक्तिले आएर मुख्यमन्त्रीको पक्षमा मतदान गरेको भन्दै संविधान मिच्ने व्यक्तिले सञ्चालन गरेको सदनमा बस्न नसकिने भन्दै एमालेले बहिस्कार गर्ने बताउनुभयो ।
नेकपा एमाले र राप्रपा प्रदेश सभाबाट बाहिरिएपछि कोशी प्रदेश सभाको बैठक अनिश्चितकाका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राईल मन्सुरीले मत विभाजन भएर मतदान सकिएपछि संशोधन पनि सकिएपछि आफ्नो आसनबाट तल झरेर मतदान गरेका थिए ।
सभामुखको भूमिकामा रहेका व्यक्तिले गरेको गतिविधिले संविधान र कानुनको उल्लङ्घन भएको संविधान विद्धहरूले बताउँदै आएका छन् ।