
विराटनगर ५ भदौ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको बताउनु भएको छ । उहाँले संविधान मिचेर गरिएको कार्य विरुद्ध सर्वाेच्च अदालत जाने बताउनुभयो ।
प्रदेश चौतारी कोशी प्रदेशको प्रथम साधारणसभा कार्यक्रममा नेता कार्कीले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले बुधबार अदालत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ एमालेसँग अदालत जानुबाहेक अर्काे विकल्प छैन ।’ उहाँले प्रदेशसभा र प्रदेश प्रमुखलाई पनि सो बारे जानकारी दिईसकेको बताउनुभयो ।
प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर आफै मतदानको प्रक्रियामा सहभागि भएका थिए । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसबिरुद्ध एमाले अदालत जान लागेको हो ।