विराटनगर ३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभाको खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा नेतृत्वमा बनेको ४ सदस्यीय स्थलगत अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।
स्थलगत अध्ययन र अनुगमनका आधारमा इन्सेकले साउन ३२ गते यातनाबाट कैदीको मृत्यु भएको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कारागारमा कैद भुक्तान गरिहेका सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते मृत्यु भएको घटनाको इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमन टोलीले पीडित परिवार, सरकार प्रतिनिधि, प्रत्यक्षदर्शीका भनाइ, छानविन समितिका पदाधिकारी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतसँग भेट गरी घटनाको स्थलगत अध्ययन र अनुगमन गरी विराट फर्किएर प्रतिवेदन सार्वजनिक गरेको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भयो ।
स्थलगत अध्ययन प्रतिवेदनका आधारमा दुई जना कैदीको भाग्न खोजेको आरोपमा कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि यातना दिएको र कारागारभित्र बुझाएपछि थप कुटपिटबाट कैदीको मृत्यु भएको आधारहरू भेटिएको प्रमुख थापाले बताउनु भयो । मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते बिहान उपचारका क्रममा मृत्यु भएको घटना सार्वजनिक भएको थियो । भाग्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कैदीको अस्पतालमा मृत्यु भएको विषय शङ्कास्पद देखिएकाले इन्सेकले घटनाको स्थलगत अनुगमन गरेको इन्सेक कोशी प्रदेश प्रमुख थापाले बताउनु भयो ।
इन्सेक अनुगमन टोलीले मृतक विनोदका ३० वर्षीय दाजु प्रकाश तोलाङ्गी, ५९ वर्षीया आमा खुलमाया तोलाङ्गी, २८ वर्षीया दिदी भीमा रम्तेल, मृतक प्रकाश बलामीका ३५ वर्षीय दाजु रमेश बलामी, छिमेकी सञ्जीव कार्की, प्रत्यक्षदर्शी खाँदवारी नगरपालिका–१ की ३८ वर्षीया शारदा न्यौपाने बजगाई, गृहमन्त्रालयद्वारा गठित छानविन समिति संयोजक कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदार, कारागा प्रशासक राजेन्द्र घिमिरे, मादी नगरपालिकाका मेयर जीवन लिङथेप, जिल्ला अस्पतालका अहेब डाक्टर सुरज पोखरेल, राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश विराटनगर कार्यालय, निर्देशक पवनकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सङ्खुवासभाका प्रमुख अनुसन्धान अधिकृत उमेश पाण्डे, एड्भोकेसी फोरम,काठमाण्डौँका अधिवक्ता कुमारप्रसाद थपलियालगायतसँग घटनाको विषयमा जानकारी लिएर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।