निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई निर्वाचन आयोगको आग्रह

विराटनगर, १ वैशाख । स्थानीय तह निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभएको हो ।

निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।