विराटनगर ३१ साउन । कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले विद्युतीय (इन्डक्सन) चुलो फिर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा आज विहान उनले इन्डक्सन चुलो फिर्ता गरेका हुन । प्रदेशसभाका कर्मचारीले प्रष्टसँग नबुझाई सामान दिएको चौधरीले बताए ।
प्रदेश सरकार जुन प्रयोजनका लागि बजेट विनियोजन गरेको सोही प्रयोजनमा खर्च गर्नु पर्ने उनले बताए । मन्त्रालय र कार्यालयका लागि खरिद गरिएको चुलो प्रदेशसभा सदस्यहरुलाई वितरण गर्नु ठिक नभएको चौधरीले बताए । चौधरीले भने,‘ प्रदेशसभामा सम्पति विवरण बुझाउनका लागि गएको समयमा कर्मचारीले तपाईको सामान आएको छ भनेर दिए । २–४ दिन अघि उर्जा मन्त्रालयको कार्यक्रममा सहभागि भएको थिए । कार्यक्रमका सहभागिलाई सामान पठाईदिएको जस्तो लागेर लिएको हुँ ।’ शुरुमा प्रष्ट थाहा भएको भए लिने थिइन उनले भने ।
प्रदेशसभा सदस्य चौधरीले घरभाडा बापतको सुविधा नलिने यसअघि नै घोषणा गरिसकेका छन् । उनले भने,‘५ वर्षका लागि घर भाडा वापतको सुविधा नलिने घोषणा गरेको मैले १५ हजारको चुलोमा लोभिने कुरा भएन ।’ तत्कालिन खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशका मन्त्रालय र कार्यालयलाई तोकेर वितरण गर्न दिएको निर्णय विपरित मन्त्रालयका सचिवले आफुखुशी निर्णय गरेको वितरण गर्नु ठिक नभएको उनको भनाई छ ।
प्रदेशसभाका २१ जना सांसदले इन्डक्सन चुलो लगेका मध्ये चौधरी सहित ३ जनाले फिर्ता गरेका छन् । चौतर्फी विरोध पछि यसअघि लीलाबल्लभ अधिकारी र इन्दिरा थापाले चुलो फिर्ता गरेका थिए ।