विराटनगर २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रका ५ जनालाई पुरस्कृत तथा सम्मानित गरेको छ ।
स्वर्गीय सिग्देलको १४ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आज आयोजित पुरस्कार वितरणमा एवं सम्मान कार्यक्रममा एक पत्रकार सहित ५ जना पुरस्कृत तथा सम्मानित भएका हुन । कार्यक्रममा कान्तिपुर टिभीकी संवाददाता सुशीला पाठक, विराटनगरका पुराना ढुवानी व्यवसायी सिताराम भगत, युवा उद्यमी अनमोल प्रधान, महिला उद्यमी प्रतिभा रिजाल ओली र विद्यार्थी सौगात मण्डललाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य भीम आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, प्रतिष्ठान अध्यक्ष सीता सिग्देल लगायतले सम्मानित गर्नुभयो ।
कार्यक्रममा पत्रकार पाठकलाई २१ हजार ११५, ढुवानी व्यवसायी भगतलाई १५ हजार र कृष्णप्रसाद सिग्देलले अध्ययन गर्नुभएको सुनसरी बराहक्षेत्रको जनता माविबाट २०७९ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सौगात मण्डललाई नगद १५ हजार १११ राशी प्रदान गरिएको थियो । भगतलाई प्रदान गरिएको व्यवसायी सम्मान यस वर्षदेखि शुरु भएको प्रतिष्ठानकी अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सम्मानहरु विगत वर्षहरुदेखि नै निरन्तर हुँदै आएका हुन । कार्यक्रममा स्वस्तिका ढुवानीका मजदुरलाई २१ हजार नगद सहित कपडा वितरण गरिएको छ । स्वस्तिका ढुवानीका चालकको कल्याण कोषमा २१ हजार र कर्मचारी कल्याण कोषमा ५१ हजार प्रदान गरिएको छ । कल्याण कोषमा हरेक बर्ष नगद राशी प्रदान गरिदै आईएको प्रतिष्ठानले जनाएको छ ।
विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गर्दै पुर्व मुख्यमन्त्री आचार्यले सरकारले संकलन गरिएको राजश्व उत्पादन क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो । उहाँले मुलुकको व्यापार घाटा कम गरी समृद्धि कायम गर्न उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नु भयो । पूर्वमुख्यमन्त्री आचार्यले सरकारले ‘नीजि क्षेत्र मैत्री आर्थिक नीति’ ल्याएमा मुलुकमा उत्पादन वृद्धि भई निर्यातमुलुक स्थापनामा सहयोग पुग्ने विचार राख्नु भयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पुरस्कृत पत्रकार सुशिला पाठक, यूवा उद्यमी अनमोल प्रधान, उद्योगपति ताराचन्द खेतानले निरन्तर श्रमबाट सफलता प्राप्त हुने स्वर्गीय सिग्देलले समाजलाई देखाउनु भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङकन सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह लगायतको सहभागिता रहेको थियो ।