विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु प्रदान गर्न प्रदेश सरकार गम्भीर छ भन्दै विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील छ भत्रुभयो । उहाँले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकार पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्की स्कीन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसेको जानकारी दिँदै डेङ्गु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पतालहरुलाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा लम्की स्कीन रोगबाट छ हजार ५०० चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजार भन्दा बढी चौपाया प्रभावित भएकाले भ्याक्सिनले मद्दत गर्ने भन्दै प्रदेशमा राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव सुरेश राउतले विपद् व्यवस्थापन मन्त्रालयले योजनावद्ध काम गरिरहेको चर्चा गर्नुभयो । सो अवसरमा ताप्लेजुङ जिल्लाका फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान मुख्यमन्त्री थापाले हस्तान्तरण गर्नुभयो । दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अधिकांश घरहरु काठबाट निर्मित रहेकाले कुनै पनि हुन सक्ने आगलागीलाई नियन्त्रण एवं रोकथामका लागि मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने प्रमुख मादेनले जानकारी दिनुभयो । फुङ्लिङमा यो समेत गरेर अहिले दुई वटा दमकल रहेको र पहिलो दमकल भारतीय दुतावासबाट सहयोग स्वरुप प्राप्त भएको प्रमुख मादेनले बताउनुभयो ।