मोरङको बेलबारीमा छोराले गरे बाबुको हत्या

विराटनगर, १ वैशाख । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या आफ्नै छोराले गरेका छन् । ३१ वर्षीय बासुदेव कार्कीले आज दिउँसो जयबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

बासुदेवले आँगनमा पछारेर बुवाको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ । त्यही विवादलाई लिएर बासुदेव र भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा बासुदेवले आँगनको ढुंगामा पछारेको प्रहरीले जनाएको छ । डिएसपी श्रेष्ठका अनुसार घटनापछि गम्भीर घाइते जयबहादुरलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ल्याएको थियो ।

उपचारकै क्रममा दिउँसो ३:३० बजेतिर मृत्यु भएको श्रेष्ठले बताउनु भयो । प्रहरीले बाबुको हत्यामा संलग्न बासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । डिएसपी श्रेष्ठले अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिनु भयो । बाबुको हत्या गरेका बासुदेवले सुरुमा आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ । कार्की परिवारमा केही समयदेखि जग्गा अंशवण्डासम्बन्धी विवाद रहेकोे स्थानीय बताउँछन् ।