विराटनगरका छात्रासँग उपप्रमुख कार्कीले भन्नुभयो,‘ शिक्षक र अभिभावकलाई भन्न नसके मलाई भन्नुहोस् ’

विराटनगर ९ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले छात्राहरुलाई समस्याहरु नलुकाउन आग्रह गर्नु भएको छ । समस्याहरु विद्यालयमा शिक्षकलाई, घरमा अभिभावकलाई पनि भन्न सक्नु भएन भने आफुलाई भन्न आग्रह गर्नुभयो । उपप्रमुख कार्कीले भन्नुभयो,‘ तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।’

जेसी बाल सदन माविको आयोजनामा आज भएको ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रममा उपप्रमुख कार्कीले सो कुरा बताउनु भएको हो । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपप्रमुख कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए ।

छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । उपप्रमुख कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैतिक कार्य गरेको पनि पाइने गरेको उहाँको भनाइ थियो । उहाँले यसअघि पनि विद्यार्थीसँग उपप्रमुख कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपप्रमुख कार्यक्रम निकै प्रभावकारी भएको उहाँको भनाइ थियो । विद्यालयमा उपप्रमुख कार्कीलाई विद्यार्थीहरुले शिक्षकबाट दुव्र्यवहारमा पर्ने गरेको, अभिभावकबाट पनि पीडित हुनु परेका लगायतका समस्याहरु सुनाएका थिए ।