एमालेको सदस्य संख्या घटेको भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

विराटनगर ४ साउन । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ ।

एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । “नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।” उहाँले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य र्पुयाउने र पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य र्पुयाउने लक्ष्य रहेको उल्लेख गरेका छन् । एमालेले १० औं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पारे ।

एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उहाँले बताउनुभयो । “दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत कायम थियो भने अर्काेतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन”, उहाँले भन्नुभएको छ, “यो कुरा नवौँ महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ ।

२०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए ।” संगठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेका छन् ।