विराटनगर ३० असार । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले भाषा, संस्कृति र पहिचान राष्ट्रिय एकताको अमुल्य निधि भएको बताउनु भएको छ । उहाँले संस्कृतिको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
विराटनगरमा आज भानु कला केन्द्रले आयोजना गरेको बहुभाषिक कविता वाचन, श्रष्टा सम्मान तथा बहुजातिय समावेशी सांस्कृतिक कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङले नेपालमा रहेका विविध भाषा र जाति नेपालीको शक्ति भएको बताउनुभयो । उहाँले बहुभाषिक बहुसास्कृतिकको बसोबास रहेको हुनाले सवैलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘संस्कृति बचाऔं राष्ट्रियता जोगाऔं’ भन्ने नारा सहित आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले आयोजना गरेको सो कार्यक्रममा नेपाली भाषा र संस्कृति संरक्षणमा योगदान पुर्याउने साहित्यकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा साहित्यकार हरि बराललाई भानु साहित्यिक सम्मान र नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष तारा आचार्यलाई भानु पत्रकारिता सम्मानबाट प्रदेश प्रमुख खापुङ र भानु कला केन्द्रकी अध्यक्ष माया पौडेलले दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रममा विभिन्न भाषामा कविता वाचन, गीत, बहुजातिय सांस्कृतिक, नृत्य साथै विभिन्न जातजाती झल्कीने कार्यक्रम गरिएको थियो ।