विराटनगर, २८ असार । मोरङको बुढीगंगा गाँउपालिकाले पालिक भित्रका १७ वटा समुहहरुलाई विभिन्न वाजागाजाहरु वितरण गरेको छ ।
गाँउपालिकाले आज ५ लाख रुपैया बरावरको वाद्यवादन सामग्रीहरु वितरण गरेको हो । सस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले सामग्रीहरु वितरण गरिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष जीतनारायण थापामगरले सोही गाँउपालिकामा रहेका ती समूहलाई वाद्यवादनका सामग्रीहरु वितरण गर्दै आवश्यकता अनुसार अगामी दिनमा अझ थप सामग्री दिइने बताउनुभयो । वितरण गरिएको सामग्रीमा हारमोनियम, मादल, ढोलक, झ्याम्टा, खैजेडी, स्पीकर, एम्प्लीफायर लगायतका सामग्रीहरु रहेका छन् ।
गाँउपालिका अध्यक्ष थापामगरले धर्म संस्कृति र पहिचान जोगाउन भजन मण्डली र जातिय सांस्कृतिक समूहहरुले उल्लेखनीय कार्य गरिरहेकोले आगामी दिनमा पालिकाले सहयोग गर्दै जाने बताउनुभयो । विकास निर्माणका साथै कृषि औजारहरु वितरण गर्दै आएको गाउपालिकाले धर्म र संस्कृति जोगाउनको लागि यस्ता समुहहरुलाई पनि सहयोग गर्न सुरु गरेको जनाएको छ ।