कोशी प्रदेशमा ३६.६७ प्रतिशत धान रोपाइँ

विराटनगर, २८ असार । कोशी प्रदेशमा कुल ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा कोशीमा ४ दशमलव ७१ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका अनुसार तराईका जिल्लामा झापामा सवै भन्दा बढी ४८ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ३५ प्रतिशत, सुनसरीमा ३१ प्रतिशत रोपाइँ भएको हो । मध्यपहाडी क्षेत्रमा भोजपुरमा सवैभन्दा बढी ४६ प्रतिशत धान रोपाइँ भएको छ । उच्च पहाडी जिल्लामा सोलुखुम्वुमा सवैभन्दा बढी ६० प्रतिशत रोपाइँ भएको निर्देशनालयका निमित्त निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । कोशी प्रदेशका उदयपुर र धनकुटामा सवै भन्दा कम १०–१० प्रतिशत मात्र रोपाइँ भएको छ ।

निर्देशनालयका अनुसार उच्च पहाडी जिल्लामा ताप्लेजुङ, संखुवासभा, र सोलुखुम्बू रहेका छन् । मध्य पहाडी जिल्लामा इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटांग र उदयपुर रहेका छन् । तराईका जिल्लामा झापा, मोरङ र सुनसरी रहेको निर्देशनालयले जनाएको छ ।

कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको छ । धान रोपाइँका लागि ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल योग्य जमिन रहेको निर्देशनालयले जनाएको छ ।