कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक : दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गरिने

विराटनगर २६ असार । कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

उनका अनुसार निजामती ऐन परिमार्जन गर्ने अर्काे निर्णय पनि बैठकमा भएको छ । कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको जानकारी सुनुवारले दिए ।
त्यस्तै, बाढी र पहिरोलगायतका दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । ‘बाढी र पहिरोलगायतका प्रकोपले विभिन्न ठाउँमा मानवीय एवं भौतिक क्षति गरिरहेको छ,’ सरकारका प्रवक्ता सुनुवारले भने, ‘आगामी दिनमा सम्भावित क्षति रोक्न पूर्व तयारीमा जुट्ने निर्णय बैठकमा भएको छ ।’ साथै, पीडितहरुका लागि राहत र क्षतिपूर्ति वितरण प्रक्रियालाई प्रभावकारी बनाएर लगिने उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकबाट रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको सुनुवारले बताए ।