सम्वेदनशील भै स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पर्छ : प्रमुख आयुक्त थपलिया

विराटनगर,३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्वेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्वारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ ।

निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरसहित बनाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख आयुक्त थपलियाले स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउन संसदले बनाएको कानुनको पूर्ण पालनको प्रतिवद्धता व्यक्त गर्दै मतदान केन्द्रमा खटिएर स्थानीय समुदायसँग समन्वय गरि निर्वाचनको कार्यलाई अघि वढाउन आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनका लागी आयोगले संविधान र कानुन अनुसार सवै प्रक्रिया अगाडी वढाएको उल्लेख गर्नु हुदै निर्वाचन निर्देशिका एवं स्व घोषणाले उम्मेदवारलाई जिम्मवार बनाएको धारणा राख्नु भयो ।

थपलियाले तोकिएको मितिमा निर्वाचन हुने कुरामा कुनै शंका नराख्न आग्रह गर्दै निर्वाचनको रकेट प्रक्षेपण भइ सकेको अवस्थामामा रोक्नुले मुलुकमा ठूलो दुर्घटना निमत्याउने बताउनु भयो । निर्वाचन लोकतन्त्र र मुलुकको सम्वद्धिको सम्वाहक भएकोले यसलाई सफल बनाउन सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले आयोगले निर्वाचन आचार संहिता पूर्ण रुपले कार्यान्वयनको सम्बन्धमा संयन्त्र निर्माण गरि अनुगमन गर्ने जानकारी दिनु हुदै १० हजार २०० मतदान स्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताउनु भयो ।

प्रदेश नं १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवको रुपमा लिइ स्वच्छ, निश्पक्ष , भयरहित वातावरणमा सम्पन्न गर्न सवैले जिम्मेवारी पूर्वक कार्य गर्नुपर्नेमा जोड दिनु भयो । प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलु बाहेक ११ जिल्ल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारी १२० जनाको सहभागिता रहेको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यव अधिकारीले बताउनु भयो ।