मुख्यमन्त्री थापाद्धारा मन्त्रिपरिषद् विस्तार, एकिकृत समाजवादीको आपत्ति

विराटनगर २४ असार । कोशी प्रदेशका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सत्तारुढ माओवादीका २ र नेपाली कांग्रेसका एक जना थपेर मन्त्रिपरिषद् ६ सदस्यीय बनाउनु भएको छ । मन्त्रीमा नियुक्त तीन जनालाई प्रमुख परशुराम खापुङ्गले सपथ ग्रहण गराउनु भएको छ ।

मुख्यमन्त्री थापाको मन्त्रिपरिषद्मा आज नियुक्त भएका जीवन आचार्यलाई मात्रै विभागिय जिम्मेवारी दिईएको छ । माओवादीबाट सरकारको नेतृत्व गर्नु भएका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिईएको छ । मन्त्री आचार्यले आजै मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ ।

अन्य ४ जना मन्त्रीहरु विना विभागिय रहेका छन् । आज सपथ लिएका राजेन्द्र कार्की र रामकुमार खत्री, शुक्रबार सपथ लिएका प्रदीपकुमार सुनुवार र कमलप्रसाद जवेगु विना विभागिय रहेका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार सम्हालेका छन् ।

थापा नेतृत्वको मन्त्रिपरिषद्मा माओवादीका आचार्य र कार्की, कांग्रेसबाट मुख्यमन्त्री थापा र खत्रि, नेकपा एकिकृत समाजवादीबाट जवेगुले प्रतिनिधित्व गरेका छन् । आज गरिएको मन्त्रिपरिषद् विस्तार प्रति सत्तारुढ एकिकृत नेकपा समाजवादीले आपत्ती जनाएको छ । मुख्यमन्त्री थापाले पूर्व सहमति विपरित मन्त्रिपरिषद् विस्तार गरेको उसले आरोप लगाएको छ ।