
विराटनगर २४ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधशी नियुक्ति छिट्टै हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन, सरकार निर्माण र कानूनमन्त्री नियुक्त जस्ता विविध कारणले बैठक वस्न ढिलो भएको र अव चाडै न्यायाधीश नियुक्त हुने प्रष्ट पार्नु भयो । प्रधानन्यायाधीश कार्कीले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यक्ता विषयमा विभिन्न कोणबाट प्रश्न उठिरहेको छ भन्दै विगतमा आफ्नो नेतृत्वमा बनेको समितिले दिएको प्रतिवेदनमा परिषदको पुनः संरचना विषयमा कुरा उठाएको र संविधान संशोधन हुँदा यो विषयलाई हेरिनु पर्छ भनिएको जानकारी दिनु भयो । उहाँले सर्वोच्च अदालतमा गोला प्रथा प्रणाली लागु भएपछि मुद्दा सम्बन्धी जनताको विभिन्न प्रकारका जनगुनासा निर्मूल भएको बताउनु भयो ।
प्रधानन्यायाधीश कार्कीले भन्नु भयो ‘जिल्ला तथा उच्च अदालतमा दुई जोड शुन्य अभियान संचालनवाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा रहेको छ ।’ उहाँले आगामी दिनमा मुद्दाको प्रकिया अनुसार ६ महिना, एक वर्ष र १८ महिनाको मार्ग निर्धारण गरेर फैसला गर्ने क्यालेण्डर सिष्टम बनाउने र यसबाट यथा समयमा न्यायालयवाट मुद्दाको फैसला हुने विचार व्यक्त्त गर्नुभयो ।
प्रधानन्यायाधीश कार्कीले संविधान र कानूनमा भएको व्यवस्था अनुसार लामो समयदेखि रिक्त रहेको ठूलो सङख्याका न्यायाधीश नियुक्ति गरेमा अदालतमा हुने मुद्दाको चाप घट्ने धारणा राख्नु भयो ।