विराटनगर, २० असार । मोरङको ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
५ महिनादेखि तलब भत्ता नपाएको भन्दै असार १८ गतेबाट स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गरी स्वास्थ्यकर्मीहरु गाँउपालिकाको कार्यालयमा धर्नामा बसेका छन् । गाउँपालिका प्राङ्गणबाट नै आवश्यक स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यकर्मीहरूले धर्ना कार्यक्रम गर्दै आएका छन् ।
स्वास्थ्यकर्मीहरूको तलब भत्ता भुक्तानीमा कुनै सुनुवाई नभएकोले पालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरू बाध्य भएर तलब भत्ता भुक्तानी नहुनजेल सम्मका लागी स्वास्थ्य संस्था बन्द गरी पालिका प्राङ्गणबाट नै ओपिडि सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोतिपुर स्वास्थ्य चौकीका प्रमुख सन्तोष गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक सेवा तथा २४ घण्टे प्रसुती सेवा स्वास्थ्य संस्थाबाटै सञ्चालनमा छन् । गाउँपालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, १ आधारभूत स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी रहेको छ ।
ग्रामथानमा ६७ जना स्वास्थ्यकर्मीहरू कार्यरत छन् । उनीहरुले ५ महिना देखिको कुल तलब भत्ता १ करोड ९६ लाख पाउन बाँकी रहेको छ । तलब भत्ताका लागि ४३ लाख मात्र निकासा भएकोले उनीहरु आन्दोलित भएका हुन् ।
स्वास्थ्यकर्मीहरूको अपुग तलब भत्ताका लागि संवन्धित निकायमा पहल गरेपनि आश्वासन मात्रै पाएको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारले बताउनुभयो । उहाँले पहल गरिरहेको बताउनुभयो ।