विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ ।
आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने जानकारी दिनुभयो । यसक्रममा उपसभापति रायमाझीले पहिलो २ वर्ष नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुसंग पहल गर्ने जानकारी दिए ।
प्रदेश सरकारका लागि केन्द्रीय शीर्ष नेताहरुको पहल र सुझाव आवश्यक हुने हुदाँ केहीदिनपछि काँग्रेसका लागि सकारात्मक सन्देशसहित सरकार गठन हुनेमा विश्वस्त रहेको उपसभापति रायमाझीले बताए। नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसंग शीर्षस्थानबाट छलफल भइरहेको बताएका रायमाझीले प्रदेश सरकारमा राप्रपाको समेत सहभागिता हुने प्रस्टाउनुभयो । सरकारका लागि अन्य दलले दाबी गरिरहदाँ प्रदेशमा गठबन्धन दलमध्ये ठूलो दल काँग्रेस रहेको उल्लेख गर्दै पहिलो पटक काँग्रेसले नै नेतृत्व गर्न पाउनुपर्नेमा उनले जोड दिनुभयो । यसक्रममा गठबन्धन दलको माओवादी केन्द्र डेढ वर्ष, एकीकृत समाजवादीले बाँकी समय सरकारको नेतृत्व गर्नुपर्ने प्रदेश कार्य समितिको बुझाई छ ।
शुक्रबार प्रदेश सभाबाट एमाले नेतृत्वको सरकार ढलेपनि हालसम्म प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गर्नु भएको छैन ।