विराटनगर, ३० चैत । मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणसँग जोडिएको घटनामा १५ जनाविरुद्ध आज कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय मोरङले १५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो । अभियुक्तमध्ये १० जना मात्रै पक्राउ परेका छन् ।
पाँच जना अझै फरार रहेको प्रहरीले जनाएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय समीर राई, १८ वर्षीय कपिल नेपाली र २५ वर्षीय मनकुमार महरा, २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मालगायतविरुद्ध मुद्दा दर्ता भएको छ ।
सार्वजनिक बिदाका कारण ३ दिनसम्म अदालत बन्द रहने भएपछि प्रतिवादीविरुद्धको मुद्दाको थप प्रक्रिया भने आगामी वैशाख ४ गतेदेखि मात्रै अघि बढ्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार अभियुक्तहरुलाई वैशाख ४ गते पुनः उपस्थित गराउने गरी फिर्ता पठाइएको छ ।