विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुने क्रममा गठबन्धन दलबाट २ जना सांसद अनुपस्थित भएका छन । प्रदेशसभा बैठकमा उपस्थित भए पनि उनीहरू मतदान प्रक्रिया सुरु हुन लाग्दा बाहिरिएका थिए ।
नेकपा माओवादी केन्द्रका नारायण बुर्जामगर र नेपाली कांग्रेसकी ममता तामाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन । मुख्यमन्त्रीले जवाफ दिने क्रममा बैठकमा उपस्थित भएका उनीहरू मतदान प्रक्रिया सुरु हुने बेला संसद भवन प्रदेशसभाबाट बाहिरिएका थिए । यद्यपि, बुर्जामगर र तामाङ आबद्ध दलले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएनन । नेकपा एमालेका नेता कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन सक्नु भएन । विश्वासको मत नपाएपछि उहाँ नेतृत्वको प्रदेश सरकार ढलेको छ ।
मतदान प्रकयामा सहभागी नभएका उनीहरूले स्वास्थ्य समस्याका कारण भाग लिन नपाएको दाबी गरेका छन । तर, उनीहरूको भूमिका शंकास्पद देखिएपछि सम्बन्धित दलले नै उनीहरूलाई मतदान दिनबाट रोकेको र हलबाट बाहिर निकालेको हुनसक्ने आशंका छ । ‘मुख्यमन्त्री कार्कीलाई ‘फ्लोरक्रस’ गर्दै विश्वासको मत दिनसक्ने सम्भावना देखिएपछि मतदान हुने बेलामा दुवै जनालाई बाहिर निकालिएको हो,’ स्रोतले भन्यो, ‘दुवै जनाको भूमिकालाई लिएर उनीहरु आवद्ध दल नै सशंकित बन्नुपर्ने अवस्था आयो ।’
बुर्जामगरले संसद बैठकमा उपस्थित भएपनि मतदान हुने बेला आफू बाहिरिएको बताउनुभयो । ‘म प्रेसर (उच्च रक्तचाप)को बिरामी थिएँ । चेकजाँचका लागि डाक्टरकोमा जानु परेकाले मत दिन भ्याइँन,’ उहाँले भन्नुभयोे, ‘संसदभित्र मतदान गर्ने मन थियो । एक्कासि प्रेसर बढेकाले उपचारमा जानु पर्दा समय अपुग भयो ।’ सांसद तामाङले पनि आफ्नो स्वास्थ्य बिग्रिएका कारण मतदानमा सहभागी हुन नपाएको बताउनुभयो । दलको निर्णयभन्दा बाहिर गएर मत नदिने र आफूले कुनै शंकास्पद् भूमिका निर्वाह नगरेको तामाङको भनाइ छ । अन्नपूर्णबाट