विराटनगर १४ असार । कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी तीन दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकीने बताएका हुन । विपक्षी जनता समाजवादी पार्टी (जसपा) ले तटस्थ बस्ने निर्णय गरेको छ । सत्तारुढ नेकपा एमालेले कोशी प्रदेशको स्थायीत्वको लागि बर्तमान सरकारलाई निरन्तरता दिन आग्रह गरेको छ । राप्रपाले सरकारलाई पूर्ण समथन रहने जनाएको छ । प्रदेश सभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनुभयो ।
कोशी प्रदेस सभाको बैठकमा उहाँले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभयो । मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अध्यादेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताउनुभयो ।
कोशी प्रदेश सरकारको स्थायीत्वका लागि नेकपा एमालेले बर्तमान सरकारलाई विश्वासको मत दिन आग्रह गरेको छ । एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा बैठकमा लिलाबल्लभ अधिकारीले अर्काे सरकार बन्ने अवस्था नरहेकाले सबै दलले यहि सरकारलाई समर्थन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेशमा एमाले र राप्रपा मिल्दा ४६ र विपक्षी गठबन्धनमा पनि ४६ सांसद रहेकाले अर्काे सरकार बन्ने अवस्था नरहेको उहाँको भनाइ छ । बर्तमान सरकालाई विश्वासको मत नदिए कोशी प्रदेशमा मध्यावधिको सम्भावना उच्च रहेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताउनुभयो । राप्रपा सांसद अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारलाई पूर्ण समर्थन रहेको बताउनु भएको छ । उहाँले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले एमाले सच्चिए आफूहरु वर्तमान सरकारलाई विश्वासको मत दिन तयार रहेको बताउनु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै राईले एमालेले आफूहरुलाई नचाहिँदा वेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताउनुभयो ।
एमाले संविधानको खिलापमा पटकपटक उत्रिएका कारण र आफूहरु लक्षित गरी निरन्तर प्रहार गरिरहँदा विश्वासको मत दिन नसक्ने उहाँले बताउनुभयो । जनता समाजवादी पार्टी मतविभाजनमा तटस्थ बस्ने भएको छ । जसपा सांसद निर्मला लिम्वुले प्रदेश सभा बैठकमा बोल्न अस्वीकार गर्नुभयो ।