विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गठबन्धन सरकारले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको उहाँको आरोप छ ।
आज एमाले विराटनगर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचन गर्न नचाहने षड्यन्त्रकारीहरूलाई सबैले परास्त गर्नुपर्ने बताउनुभयो । गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको उहाँको भनाई छ । गठबन्धन सरकारलाई परमादेशको संज्ञा दिनुभएका अध्यक्ष ओलीले परमादेश सरकारले देशको आर्थिक अवस्थालाई श्रीलंकाको जस्तो बनाउने काम गरेको आरोप लगाउनुभयो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेले गर्दा वृद्ववृद्वाले भत्ता पाइरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ महिनाको एक सयबाट शुरू भएको भत्ता दैनिक एकसय भन्दा बढी भएको छ ।’ उहाँले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, सयौं पुलहरू एमालेले अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा एक हजार बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेको महानगर कमिटीले जनाएको छ ।