विराटनगर ३० जेठ । उच्च अदालत विराटनगरले एभरेष्ट बैंक सुनसरी इटहरी शाखाका तत्कालिन अप्रेशन इन्चार्ज निरज प्रधानलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
विराटनगर ८ का प्रधानले सर्वसाधारणले बैंकमा बचत गरेको एक करोडभन्दा बढी रकम रकमान्तर गरि ठगी गरेको अभियोगमा उच्च अदालत विराटनगरले बैंकिङ्ग कसुर मुद्धामा कारागार चलान गर्ने आदेश दिएको हो । अदालतले २ जनालाई धरौटीमा र ६ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायाधिश कृष्णकमल अधिकारी र राजन भट्टराईको संयुक्त बाणिज्य इजलासले प्रधानलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ट्रासफर गरी ठगी गरेको अभियोग प्रधानले बयानको क्रममा स्वीकार गरेको आदेशमा उल्लेख छ । प्रधानले बयानका क्रममा ग्राहकको विभिन्न खाताबाट रकमान्तर कार्यका अन्य कसैको पनि संलग्नता नरहेको बयान दिएका थिए । घटनामा संलग्न रहेका शंकर भुजेल र अजय खिउजूलाई जनही ७ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । भुजेल र खिउजू प्राप्त प्रमाणका आधारमा कसुरदार ठहरीएको आदेशमा उल्लेख छ । अन्य प्रतिबादीहरु बैंकको शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई साधारण तारेकमा छाड्न आदेश दिईएको छ । उनीहरुलाई प्राप्त प्रमाणहरुबाट कसुरदार भएको विश्वास गर्ने मनासिव आधार नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम तारेखमा राखि मुद्धा पुर्पक्ष गर्ने आदेश गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बैंकको इटहरी शाखाबाट ग्राहकको खाताबाट अनधिकृतरूपमा रकम रकमान्तर गरेको आरोपमा निरज प्रधानलाई गत चैत २२ गते पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धान गरिरहेको प्रहरीले बैंकका थप ६ जना कर्मचारी र बाह्य दुई जनालाई गत जेठ ५ गते पक्राउ गरेको थियो । उनीहरूले ३३ जना ग्राहकको अकाउन्टबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको प्रहरीले प्रहरीले जनाएको छ । बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको थियो ।