विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै १० घण्टा थुनेका छन् । उनीहरु राती १२ वजे छुटेका थिए ।
आईतबार क्याम्पस प्रशासन र स्ववियुवीच वार्ता गर्ने सर्तमा राती १२ बजे छोडिएको स्ववियु सदस्य मन्दिप पोखरेलले जानकारी दिनुभयो । क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरेलाई विद्यार्थीहरुले दिउँसो २ बजे कार्यकक्षमै थुनेका थिए । स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनको दादागिरी रवैयाविरुद्ध उनीहरुलाई क्याम्पसमै थुनेको जनाएको छ ।
स्ववियु सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई वेवास्था गरेर क्याम्पस प्रशासनले आफु खुशी मनपरीतन्त्र चलाएकोले त्यसको विरुद्ध थुनिएको बताउनुभयो । सभापति पौडेलले सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी युनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण उनीहरुलाई थुनिएको बताउनुभयो ।