कोशी प्रदेश उपसभामुख र एमाले संसदीय दलका उपनेता माथि भएको आक्रमणको एमालेद्धारा विरोध

विराटनगर २५ जेठ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उपसभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना माथि भएको आक्रमणको विरोध गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उपसभामुख दनुवारलाई उदयपुरमा र उप नेता राना मगर माथि इलाममा भएको आक्रमण प्रति भत्र्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । समाजमा अमन चयन कायम गर्ने, शान्ति सुरक्षा कायम गर्ने सङ्घीय सरकारको दायित्व हो, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले भने, शान्ति सुरक्षा कायम गर्न सङ्घीय सरकार चुक्दै गएको देखिन्छ ।

प्रमुख सचेतक भण्डारीले शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् । उहाँले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलबाट समस्याको समाधान खोज्न समेत अनुरोध र आग्रह गर्नुभएको छ ।

संसदीय दलका उप नेता राम राना माथि इलामबाट विराटनगर फर्कने क्रममा इलाममा र उप सभामुख दनुवारलाई उदयपुरको गाईघाटमा बिहीबार आक्रमण भएको छ । आक्रमणबाट दुवै जनालाई चोट नलागे पनि सवार गाडीमा भने क्षति पुगेको छ ।