कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

विराटनगर २३ जेठ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको थियो । सोही बमोजिम कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा लिएका हुन् । माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री थिए । उनीहरुले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् ।

केन्द्र सरकारमा भएको समीकरण बमोजिम प्रदेशमा पनि केन्द्रमा सहभागी दलहरुबीचकै सरकार गठनका माओवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । गत पुस २५ मा उनीहरु मन्त्री बनेका थिए । यसअघि जेठ १६ गते जनता समाजवादी पार्टी(जसपा) ले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ ।