
विराटनगर, २० जेठ । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले महिला तथा बालबालिकाका विषय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भएको छ । नीति निर्माताको ध्यान विकास निर्माणमा मात्र पर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
प्लान नेपाल इन्टरनेशनल र संसदीय पत्रकार मञ्च कोशी प्रदेशसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका महिला तथा बालबालिकासँग सम्वन्धित नीति तथा कानून विषयक अन्तरक्रिया कार्यक्रममा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले महिला तथा बालबालिकाको विषय जोखिममा रहेको बताउनुभयो । कोशी प्रदेशले महिला तथा बालबालिकाका सवालमा बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयनमा जोड दिईने उपसभामुख दनुवारले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेशले बनाएका ऐन, कार्यान्वयनमा विगतमा कम ध्यान दिइएको रहेछ ।’
उपसभामुख दनुवारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महिला तथा बालबालिकाका विषयले प्राथमिकता पाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ विकास निर्माणलाई मात्रै ध्यान दिईने छैन ।’
कार्यक्रममा सहभागी भएका प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशमा महिला तथा बालबालिकाका विषयलाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाएका छन् ।
कोकन सल्लाहकार कोषराज न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै कोशी प्रदेश सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा ऐन कानून तथा रणनीतिहरु अन्य प्रदेश भन्दा छिटो ल्याएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । प्रदेश सरकारले सन् २०२५ भित्रमा बालमैत्री प्रदेश बनाउने रणनीति लिएपनि सफल नहुने भएपछि लक्ष्य सन् २०३० सम्म पुर्याएको बताउनुभयो । उहाँले हिंसा निवारण कोषको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कोकन अध्यक्ष मञ्जिता उपाध्यायले प्रदेश सरकार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रकृयामा रहेकाले महिला तथा बालबालिकाका सवाललाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुले महिला तथा बालबालिकाका सवाललाई विशेष जोड दिन प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका थिए ।