सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेका छन् : मुख्यमन्त्री कार्की

विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औं गणतन्त्र दिवसको अवसर शुभकामना दिदै राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको बताउनु भएको छ । गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको उहाँले बताउनुभयो ।

भौतिक विकास तर्फ भएको उल्लेख्य प्रगती, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीतिनिर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुलप्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल रहेको मुख्यमन्त्री कार्कीले आज जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले सन्देशमा भन्नुभएको छ,‘ जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारहरु निर्माण गरिरहेको छ । तर पहाडी क्षेत्रको बढ्दो बसाँइ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहाना अनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रुपमा देखा परेकाछन् ।’

सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिकदलहरु, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदी बहिनीहरु एक जुट भएर यी साझा चुनौती विरुद्ध लड्न जरुरी रहेको उहाँले बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदी बहिनी तथा कोशी प्रदेशवासीमा उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरुको नामकरण गरी तीन तहकै दोस्रो आवधिकनिर्वाचन सम्पन्न भइसकेको उल्लेखगर्दै नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनैवटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको बताउनुभएको छ ।

जनताबाट निर्वाचित प्रतिनिधिमार्फत संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो । ऐतिहासिक दिनको सम्झनालाई चिर स्थायीबनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आएको छ ।