
विराटनगर १३ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउँमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विज्ञप्ती जारी गर्दै निषेधित क्षेत्रमा सर्वसाधारण तथा गाडी आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको बताउनुभयो । प्रदेशसभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
भोलिदेखि सुरु हुने कोशी प्रदेशको बजेट अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।