विराटनगर, २९ चैत । मानव अंग सहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई बिहान ११:४० बजेतिर पक्राउ गरेको हो ।
सिन्हालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुरकुच्चाको हड्डी ८÷८ वटा बरामद भएका छ । पक्राउ परेका भारतीय नागरिक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी भएको बताईएको छ ।
सशस्त्रका अनुसार सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा बीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचय पत्र फेला परेको छ । परिचय पत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ । पक्राउ परेका सिन्हालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
विस्तृत अनुसन्धानपछि यस विषयमा थप कुरा खुल्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीका अनुसार मानव अंगको ओसारपसारमा कानुनी प्रतिबन्ध छ ।