विराटनगर ११ जेठ । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा ८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महांघको सदस्यता शुद्धिकरण र सदस्यता वितरण निष्पक्ष रपमा गर्न माग गरेको चौतारी मोरङले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
घोषणापत्रमा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बद्र्धनमा लाग्न सरकारसँग माग गर्दै साधारणसभाले प्रदेशको नामकरण गरि कोशी प्रदेश राखेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेश सरकार र प्रदेशसभाका सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ । यसैगरि पत्रकार उत्पादन र क्षमता विकास गर्दै प्रदेशमा पत्रकारको अभिलेखिकरण गर्ने, प्रेस चौतारीका सदस्यलाई सक्रिय बनाउने तथा निष्कृय सदस्यको हकमा संगठन सुद्धिकरण गर्ने अभियान सञ्चालन गर्ने घोषणापत्रमा समेटिएको छ ।
आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट, नीति तथा कार्यक्रम संचारमैत्री बनाउन तीनै तहको सरकारलाई आग्रह गरेको छ । साधारणसभाको अवसरमा प्रेस चौतारी मोरङले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई सम्मान गरेको छ ।
चौतारी मोरङले कोशी प्रदेशस्तरमा वितरण गर्ने गरि सञ्चालनमा ल्याएको २१ हजार राशिको उक्त पुरस्कार यस पटक धनकुटाका अधिकारीले प्राप्त गर्नुभएको हो । साधारणसभामा सचिव शशांक पौडेलको सांगठनिक र कोषाध्यक्ष विद्यानन्द चौधरीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
प्रेस चौतारी मोरङ अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, प्रेस चौतारी नेपालका सचिव विक्रम लुईटेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नबोदित, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य लगायतले बोल्नु भएको थियो ।