निर्वाचनको रकेट गन्तव्यमा पुर्याउनु छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिनु भएको छ ।

निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रक्षेपण भइसकेको रकेटको दिशा परिवर्तन गर्न नसकिने बताउनु भयो । ‘गाडी छुटेको हैन । गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । एकछिन रोक्न पनि मिल्छ । प्लेन (जहाज)पनि छुटेको हैन । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्छ,’ उहाँले भन्नु भयो, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ । रकेटलाई दिशा बदल्न र रोक्न सम्भव छैन । गन्तव्यमा पुर्याउन नसके दुर्घटना हुन्छ ।’ निर्वाचन आयोग चुनाव रोकेर मुलुकलाई दुर्घटनातर्फ लैजाने वा दुर्घटना निम्त्याउने पक्षमा नरहेको थपलियाले बताउनु भयो । निर्वाचन हुँदैन भन्ने कुनै शंका नगर्न उहाँको आग्रह छ । ‘अहिलेसम्म ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ ।

निर्वाचन अधिकृतहरु चयन गरिसकियो,’ उहाँले भन्नु भयो, ‘अब मतदाता अभिमुखीकरणसमेत सुरु हुने अवस्था छ । यस्तो अवस्थामा निर्वाचन रोक्न सम्भव छैन । जसरी पनि निर्वाचन हुन्छ ।’ मुलुकलाई दुर्घटनाबाट जोगाउन र लोकतन्त्रलाई हार्न नदिन निर्वाचन गर्नैपर्ने अवस्था रहेको थपलियाले बताउनु भयो । निर्वाचनलाई सफल बनाउन संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो । मतदाता शिक्षा र जागरणमा सहयोग गर्न संचारमाध्यमलाई आग्रह गर्दै उहाँले समाचार प्रकासन गर्दा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनु भयो । सबैमा जागरण ल्याउने काम संचामाध्यमले गर्ने गरेको भन्दै थपलियाले भन्नु भयो , ‘दुःख र पीडामा पर्दा एवं विपद्मा परेका बेला सबैले संचारमाध्यमकै भर पर्ने गरेका छन् । सञ्चारमाध्यम दुःख बिसाउने ठाउँ भएकाले मिथ्या र गलत समाचारले ठाउँ पाउन नहुने उहाँले बताउनु भयो । तथ्यमा आधारित सही सूचना पस्किएर संचार माध्यमले खबरदारी र निगरानीलाई भने जारी राख्नुपर्नेमा उहाँको जोड छ । थपलियाले निर्वाचन आचारसंहिता पालनको सन्दर्भमा संचारमाध्यमदेखि राजनीतिक दलसम्म उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनु भयो । ‘आचारसंहिता एउटा अनुशासन हो । यो कसैले पालना गराउने विषय हैन,’ उहाँले भन्नु भयो, ‘आफै पालना गर्नुपर्छ ।

आचारसंहिता संचारमाध्यम, राजनैतिक दलदेखि सबैमा लागू हुन्छ ।’ निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुने थपलियाको भनाइ छ । आचारसंहिता सबैले पालना गर्ने भनेर प्रतिवद्धता जनाए पनि व्यावहारिक कार्यान्वयनमा भने कमजोरी देखिँदै आएको उहाँले बताउनु भयो । आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने जानकारी थपलियाले दिनु भयो ।