विराटनगर महानगरमा वडा नंं ८ बाट गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर ९ जेठ । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

जनतालाई घरमै सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने स्थानमा महिनामा २ पटक सेवा शुरु गरिएको हो । सेवाग्राहीको चाप हेरेर थप सेवा उपलब्ध गराउने वडाध्यक्ष पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘ घर पायकमै सेवा शुरु गरिएकाले सेवालिन वडावासीमा हार्दिक अनुरोध छ ।’ वडा नंं ८ का स्वागतम् चौक, बलुवाही, अशोक चौक, रेल्वेपारि र अमरटोलका बासीन्दाहरुलाई लक्षित गरि सेवा शुरु गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । वडाध्यक्ष पोखरेलले भन्नुभयो,‘ गाउँघर क्लिनिक मार्फत प्रदान गरिने सेवाहरु घर–घरमा पुगेर स्वास्थ्यकर्मीले दिने छन् ।’ सेवा शुभारम्भका दिन मंगलबार ४० बालबालिकाले नियमित खोपको सेवा गाउँघर क्लिनिक मार्फत पाएको उहाँले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले महानगरपालिकाले वडा स्तरबाट पहिलो पटक सेवा शुरु गरेको बताउनुभयो । लक्षित वर्गलाई पायक पर्ने गरि सेवा शुरु गरिएको उहाँले बताउनुभयो । एकै ठाउँमा सेवाग्राहीहरुले धेरै सेवा पाउने उहाँको भनाई छ । महाशाखा प्रमुख अलिका अनुसार गाउँघर क्लिनिकबाट नियमित खोप सेवा, परिवार नियोजन सेवा, सामान्य ओपीडी, औषधि वितरण, गर्भवती जाँच, प्राथमिक उपचार, बाल रोगको उपचारको सेवा एकै ठाउँबाट उपलब्ध हुने छ ।

गाउँघर क्लिनिकको सेवा अरु वडामा पनि विस्तार गरिने उहाँले जानकारी दिनुभयो । हरेक महिना वडाले गर्दै आएको जेष्ठ नागरिकको सुगर र प्रेसरको परिक्षण पनि गाउँघर क्लिनिक मार्फत गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । विराटनगर ८ ले हरेक महिना जेष्ठ नागरिकको सुगर र प्रेसरको परिक्षण गर्दै आएको छ ।