प्रदेश सांसदहरुले झुटो विवरण बुझाएर पीएसओ लिनु भएको हैन : कोशी प्रदेश प्रहरी

विराटनगर ८ जेठ । कोशी प्रदेशका सांसदहरुले झुटो विवरण भरेर व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) सुविधा नलिएको प्रहरीले स्पष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यमहरुमा झुटो विवरण भरेर प्रदेश सांसदलाई सुरक्षाकर्मी भन्ने विषयमा प्रकाशित समाचार प्रति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराज कँडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सांसदले झुटो विवरण नभरेको जनाउनु भएको छ । विज्ञप्तिमा भनिएको छ ,‘ सूचना उपलब्ध गराउँदा पद÷हैसीयतका सम्वन्धमा अभिलेखिकरण गर्दा त्रुटी हुन गएको हो ।’ ०७९ फागुन १७ गते प्रदेशको नामकरण पछि उत्पन्न सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै केही सांसदलाई पीएसओ उपलब्ध गराईएको एसपी कँडेलले उल्लेख गर्नुभएको छ ।

प्रदेशको नामकरण पछि मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उप नेता राम राना सवार गाडीमा पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए ।