लिच्चीका पात र हाँगाका झुप्पा सडकमा नफाल्न महानगरको आग्रह

विराटनगर ८ जेठ । विराटनगर महानगरपालिकाले मौसमी फल लिच्चीका पात र हाँगाका झुप्पाहरु सडकमा नफाल्न आग्रह गरेको छ ।

लिच्ची उत्पादन हुने समय भएकाले बजारका सडक किनारमा लिच्ची विक्री गरिसकेपछि पात र हाँगाका झुप्पाहरु फाल्दा फोहोर हुने गरेको भन्दै सडकमा जथाभावी रुपमा नफाल्न आग्रह गरिएको विराटनगर महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले बताउनुभयो । महानगरपालिकासँगको सहकार्यमा सरसफाईका क्षेत्रमा कार्यरत तीनवटै संस्थाहरुलाई सडकमा जथाभावी फोहोर गर्नेहरुको निगरानी गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ महानगरको उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा कार्यरत संस्थाहरुलाई सडकमा जथाभावी फोहोर गर्नेहरुको निगरानी गर्नुहोला भनेका छौं ।’

सडकमा जथाभावी फोहोर गर्नेहरुलाई महानगरपालिकाले जरिवान गर्ने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिका मुख्य बजार क्षेत्रमा विगत बर्षहरुमा लिच्चीको सिजनमा विक्री गरेपछि पात र हाँगाको झुप्पा सडकमा फालेर अत्यधिक फोहर जताततै देखिने गरेको भएपनि यसपटक अहिले सम्म त्यस्तो नपाईएको दाहालले बताउनुभयो । सरसफाइ व्यबस्थापन शाखा र महानगर प्रहरीको नियमित अनुगमन, व्यापारीहरुलाई सचेत गराउने कार्य र फोहर मैला व्यबस्थापन साझेदार संस्थाहरुको समेत नियमित सक्रियताका कारण बजार क्षेत्रमा फोहोर नदेखिएको उहाँले बताउनुभयो । सरसफाई शाखा प्रमुख दाहालले भन्नुभयो,‘ महानगरवासी सवैको सहयोग भएमा साँच्चै नगरलाई सफा बनाउन सकिन्छ ।’

विराटनगरमा विगतका वर्षहरुको तुलनामा सरसफाईका क्षेत्रमा राम्रो काम भएको उहाँले बताउनुभयो । तीनवटै क्षेत्रका साँझेदार संस्थाहरुलाई सक्रिय बनाईएको, नियमित अनुगमन, साँझेदार र सरोकारवालाहरुको नियमित बैठकका कारण सरसफाईको क्षेत्रमा कार्य प्रभावकारी हुँदै गएको दाहालले बताउनुभयो ।