कोशी प्रदेश सरकार छाड्नका लागि पार्टीले संकेत गरेको छैन : मन्त्री लिम्वू

विराटनगर ७ जेठ । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला तावा लिम्वूले सरकार छाड्नेबारे पार्टीले कुनै संकेत नगरेको बताउनु भएको छ ।

एमाले नेतृत्वको सरकारमा रहने वा नरहनेबारे आफुलाई कुनै जानकारी तथा संकेतहरु नआएको उहाँको भनाई छ । आईतबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ सरकार छाड्ने वा सरकारमा रहने भन्नेबारे मलाई कुनै निर्देशन वा संकेत भएको छैन ।’ मन्त्री लिम्वुले पार्टीको आधिकारिक निर्णय नहुँदा सम्म आफुले केही भन्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकार छाड्का लागि औपचारिक रुपमा आग्रह गरेपनि केन्द्रीय समितिको निर्णय अनुसार हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ पार्टीले निर्णयले सरकारमा रहन पनि सकिन्छ नरहन पनि सकिन्छ ।’

कोशी प्रदेश बाहेका ६ वटा प्रदेशमा केन्द्रीय गठबन्धन अनुसारको सरकार गठन भएका छन् । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, जसपा र राप्रपा सहभागि छन् । कांग्रेससंसदीय दलको बैठकले सरकार छाड्नका लागि औपचारिक रुपमा प्रस्ताव राखेपनि तत्काल सरकार छाड्ने मनस्थितिमा माओवादी र जसपा छैनन । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र एकिकृत समाजवादी सरकारमा छैनन् ।

विशिष्ट प्रकारको ससदीय अंकगणित भएका कारण कोशी प्रदेश सरकार परिवर्तनका लागि केन्द्रीय नेतृत्वले पनि चासो नदिएको नेताहरुको भनाई छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, राप्रपाका ६, नेकपा एकिकृतका ४ र जसपाका एक सांसद छन् ।