विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य शर्त रहेको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटवाट भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीन तल्ले नव निर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको आज उद्घाटन गर्दै सुरक्षा लगायत महत्व पूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी भएकाले यसलाई सुदुढ बनाउने कार्य भइरहेको भएको विचार व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले चाँडै प्रहरी समायोजन कानूनको व्यवस्थापनको पछि प्रदेश प्रहरीलाई कानून बनाएर काम सञ्चालन गर्ने आशामा वसिरहेको जानकारी दिनु भयो । उहाँले प्रदेश सरकारले प्रहरीका ५१ भन्दा वढी नयाँ भवनहरु वाहेक अन्य भौतिक संरचना निर्माण गरेको जानकारी दिँदै प्रहरीका व्यारेक,महिला ड्रेस चेन्जिङ्ग रुम,स्तनपान कक्षहरु,सेवाग्राही वस्ने स्थान, ३० थान चार चक्के र छ सय मोटर साइकल दिएको बताउनु भयो । प्रदेश प्रहरीलाई सबै हिसावले सदुढ एवं ‘प्रविधि मैत्री’ बनाउनका साथै यसको माध्यमवाट प्रदेशमा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउन काम गर्ने धारणा मुख्यमन्त्री कार्कीले राख्नुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले गरीव, पिछडिएका र सिमान्कृत क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पाखेरेल र शहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्र नारायण मिश्रले नव निर्माण भवनको माध्यमले नागरिकको सुरक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त्त गर्नुभयो ।