विराट राजा दरवार–बर्जु हाफ म्याराथनमा रावत प्रथम

विराटनगर ६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् ।

कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पुरा गरी रु एक लाख पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी उक्त दौडमा सुशिलकुमार शाही द्धितीय , मोहन देव जोशी तृतीय स्थान प्राप्त गरी कमशः रु ७५ र रु ५० हजार नगर पुरस्कार प्राप्त गर्नु भएका छन् । यस्तै होमलाल श्रेष्ठ चौथो, श्रीकास राई पाँचौ र किरणसिंह वोगटी छैठो स्थान प्राप्त गरी रु १५ /१५ हजार प्राप्त गर्नु भएको छ । हाफ म्याराथन प्रतियोगितामा ५४ जनाको सहभागिता रहेको थियो ।
महिलातर्फको पाँच किलोमिटर दौडमा रेखा विष्टले १९ मिटर ०४ सकेण्डमा दुरी पार गरी प्रथम स्थान प्राप्त गरी रु २५ हजार प्राप्त गरेकी छिन् । महिला तर्फ सीमा थारु चौधरी दोश्रो, विर्सना कुमाल तेश्रो र अन्सु मण्डल चौथो भए । उनीहरुले क्रमशः रु २० , १५, १० हजार पुरस्कार प्राप्त गरेका थिए । महिलातर्फ १९ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएका १० र ११ वर्षिया बालिका विनिता र जुनी राईलाई प्रोत्साहन स्वरुप ५-५ हजार नगद प्रदान गरिएको थियो ।

हाफ म्याराथुन विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट शुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केशलिया रोड, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा सम्पन्न भएको थियो । प्रतियोगिताका विजेता उपविजेता खेलाडीहरुलाई वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।