विराटनगर ५ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनु भएको छ ।
सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार व्यक्त गर्नुभयो । प्रमुख कोइरालाले असावधानीका कारण हरेक वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुभयो । विराटनगर महानगरपालिकाले पनि बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले महानगरले नगर प्रहरीलाई बाढी र डुबानमा परेका नागरिकको सकुशल उद्धारका लागि तालिम दिइएको बताउनुभयो ।
महानगर र सशस्त्र प्रहरीबीच सहकार्य गरेर विपद न्यूनीकरणका लागि काम गर्न सकिने उहाँको भनाइ थियो । महानगरले डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको उहाँले बताउनुभयो । उहाँले बूढीखोला, केसलिया र सिंघियामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान नहुने जिकिर गर्नुभयो । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारीले मोरङ विपदका हिसाबले उच्च जोखिममा रहेको जिल्ला भएको बताउनुभयो । सशस्त्र प्रहरकिो कंगालिनी बराह बाहिनीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरुलाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिनुभयो । उहाँले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताउनुभयो ।
निकट भविष्यमा एक सय जना गोताखोरको संख्या बनाएर हरेक प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उहाँको भनाइ थियो ।