विराटनगर ४ जेठ । विराटनगरको विराटराजाको दरबार देखि सुनसरी बर्जु सम्मको हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
विहीबार मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम चरणमा पुगेको बताईएको छ । प्रतियोगितामा तीन विभागिय टोली सहितका गरि एक सय जनाको नाम दर्ता भएको प्राविधिक सहयोग गरिरहेको मोरङ एथलेटिक्स संघ विराटनगरका अध्यक्ष दिनेश कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार ५ किलोमिटर र हाफ म्याराथन दुवैमा गरि एक सय जनाको सहभागिता रहने छ । उहाँले भन्नुभयो,‘ ५ किलो मिटरमा महिलाको मात्रै सहभागिता रहने छ । हाफ म्याराथनमा महिला र पुरुष दुवैको सहभागिता हुने छ ।’
प्रतियोगितामा बढीमा एक सयको सहभागिता रहने निर्णय अनुसार एक सय भन्दा बढीको नाम दर्ता नगरिएको मुल समारोह समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि ३१ स्थानमा ट्राफिक प्रहरी खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिनुभयो । सुनसरी र मोरङ दुवै क्षेत्रमा गरि ६५ जना ट्राफिक खटिने उहाँले बताउनुभयो । प्रतियोगितामा एउटा आईसीयु वेड सहित १० जना चिकित्सकको टोली खटिने भएको छ । आवस्यक उपकरण र औषधि सहितको मेडिकल टिम तयारी अवस्थामा राखिएको कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादवले जानकारी दिनुभयो । दुई वटा एम्वुलेन्समा चिकित्सक टोली तयारी अवस्थामा रहने उहाँले बताउनुभयो ।
हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा चौथो, पाँचौ र छैठौ हुनेलाई १५–१५ हजारको राशि प्रदान गरिने वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. राईले बताउनुभयो । उहाँका अनुसार महिला तर्फ ५ किमी दुरीमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने छ । जेठ ६ गते विहान ६ वजे विराटराजाको दरबार सङ्ग्रहालयबाट शुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केशलिया रोड, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने रुट तय गरिएको मुल समोरह समितिका सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १५ जनाको स्वयंसेवक टोलीको व्यवस्थापन गरिएको छ । व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको स्वयंवेक संयोजक दीपेन्द्रकुमार मेहताले बताउनुभयो ।
प्रतियोगिताको रुट