विराटनगर ३१ वैशाख । मकैको खोस्टाबाट फूल । सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको धनपालथानका अपाङ्गता भएका महिलाहरुले मकैको खोस्टाबाट आकर्षक फूल बनाएका छन् । बजारमा छ्याप्छ्याप्ती भित्रने कृतिम फूलहरुको तुलनामा धेरै आकर्षक र बर्षैं सम्म सजाएर राख्न सकिने गरि महिलाहरुले सजावटका फूलहरु, बुकी, ब्याच निर्माण गरेका छन् ।
धनपालथान गाउँपालिका, करुणा फाउण्डेसन र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको त्रिपक्षीय साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम’ अन्र्तगत धनपालथान गाउँपालिकाका २२ जना अपाङ्गता भएका महिलाहरुलाई ७ दिने सीपमुलक व्यवसायिक तालिम दिइएको हो । वैशाख २२–२९ गते सम्मको तालिमको अवधिमा महिलाहरुले व्यवसायिक रुपमा फूल निर्माण गर्न सक्षम भएका छन् । ७ दिनको अवधिमा फूल बनाउने र फूल राख्ने बाँसको चोयाको गमला बनाउन जानेको तालिममा सहभागि धनपालथान १ नोचाकी सीताकुमारी मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बाँसको गमला, मकैको खोस्टाबाट फूल र फूल अनुसारको रङ्याउन जान्ने भएका छौं ।’ शारिरीक रुपमा अपाङ्गता भएकी मण्डलले स्थानीय तहले आवस्यक सामग्री तथा बजारको प्रवन्ध मिलाईदिए व्यवसायीक रुपमा कृतिम फूल उत्पादन गर्ने उहाँको भनाई छ । स्थानीय श्रोतबाट आकर्षक फूल बनाउन सकिने रहेछ भन्ने कुरा ७ दिनको तालिमबाट सिक्ने अवसर पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तालिम हामी अपाङ्गता भएकाहरुका लागि धेरै नै राम्रो भयो ।’
तालिमको सहजीकरण गर्नुभएकी सहजकर्ता निर्मला भण्डारीले धनपालथान गाउँपालिको आग्रह अनुसार मकैको खोस्टाबाट फूल बनाउने तालिम सिकाएको बताउनुभयो । ७ दिनको तालिमबाट उहाँहरुले धेरै राम्रोसँग सिक्नु भएको भण्डारीको भनाई छ । उहाँले भन्नुभयो,‘ उहाँको लगनशिलताले मलाईपनि प्रभावित पारेको छ ।’ स्थानीय श्रोतको उपयोग गर्ने गाउँपालिकाको निर्णय पनि राम्रो भएको उहाँको भनाई छ । तालिममा सहभागि भएकाहरुलाई थप कक्षाको आवस्यकता भएको उहाँको भनाई छ । सहजकर्ता भण्डारीले भन्नुभयो,‘ थप कक्षा भएमा उहाँहरुमा थप निखारता आउने छ ।’
७ दिनको तालिम समापान कार्यक्रममा सहभागि हुनु भएकी जिल्ला समन्वय समिति उपप्रमुख उषा झाले अपाङ्गता भएका महिलाहरुको क्षमता विकासका लागि गाउँपालिकाले गरेको कार्य अन्य पालिकाहरुले पनि सिक्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ स्थानीय श्रोत साधनको प्रयोगबाट उत्कृष्ट फूल बनाउन सकिने रहेछ भन्ने कुरा धनपालथानका महिलाहरुले देखाउनु भएको छ ।’ आधारभुत तालिम लिएका महिलाहरुको थप क्षमता विकासका लागि गाउँपालिका समक्ष आग्रह गर्नुभयो । उहाँले तालिम लिईसक्नु भएका महिलाहरुलाई प्रोत्साहनका लागि उहाँहरुले उत्पादन गर्नुभएका सामग्रीहरुको बजारीकरणका लागि आवस्यक पहल गर्न आग्रह गर्नुभयो ।
धनपालथान गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले गाउँपालिका अपाङ्गता भएकाहरुको क्षमता विकासमा लागि परेको बताउनुभयो । उहाँहरुलाई सीपसँगै अर्थोपार्जनमा सहज हुने खालेको तालिम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष गच्छदारले स्थानीय श्रोतको उपयोग गरि उत्पादन भएका खोस्टाका फूलको बजारीकरणका लागि आवस्यक पहल गरिने बताउनुभयो । उहाँले यस खालका तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनुभयो ।
धनपालथान गाउँपालिका उपप्रमुख नसिमा बानोले खोस्टाबाट फूल उत्पादनका लागि प्रोत्साहन गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘ पहिलो चरणमा धनपालथान गाउँपालिका र वडा कार्यालयहरुमा उहाँहरुले गरेको उत्पादनलाई खरिद गरेर राख्ने छौं ।’ गाउँपालिका, वडा कार्यालय हुँदै विद्यालय तथा अन्य कार्यालयहरुलाई आग्रह गरिने उहाँले बताउनुभयो ।
करुणा फाउण्डेसनका मोरङ संयोजक श्याम किशोर साहले अपाङ्गता भएका महिलाहरुका लागि उपयोगी भएको बताउनुभयो । गाउँपालिकालाई मकैको खोस्टाबाट फूल बनाउन सकिने भनेर उहाँहरुलाई सुझाव दिए लगत्तै तालिम आयोजना गर्नु भएको उहाँले बताउनुभयो । स्थानीय श्रोतको उपयोगबाट फूल बनाउन तालिम आयोजना भएकाले पनि तालिम प्रभावकारी भएको साहले बताउनुभयो । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत धनपालथानमा विभिन्न गतिविधिहरु सञ्चालन भईरहेको उहाँले जानकारी दिनुभयो ।