गाउँलेको पैसा खाएर भागेकी भोजपुरकी पूर्वजनप्रतिनिधि पक्राउ

विराटनगर २८ वैशाख । सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत दिएर जिताएका जनतासँग रकम उठाउँदै ठगी गरेर भागेकी उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गतको मुद्दा चलाउन उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

विश्वकर्माले आफू जनप्रतिनिधि भएका बेला झुक्याउँदै सर्वसाधारणसँग लाखौं रूपैयाँ असुलेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पटक–पटक बैंकमा जाँदा पनि उनको खातामा नभएकाले पैसा निकाल्न नपाएको र गलत चेक लिएर आफूहरुलाई झुक्याइएको भन्दै पीडितले बैंकबाट ‘चेक बाउन्स’ गराएका थिए । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा विश्वकर्माविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । भागेर काठमाडौं पुगेकी उनलाई सुटुक्क भोजपुरको दिंला आएका बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं पुगेपछि सम्पर्कविहीन भएर उनी उतै लुकिछिपी बस्दै आएकी थिइन् । विश्वकर्माको खाता रहेको एनआईसी एसिया बैंकले कारोबार गर्न नपाउने गरी उनलाई कालोसूचीमा समेत राखिसकेको छ । सापटी भनेर लगेको पैसा लामो समयदेखि फिर्ता नगरेपछि पीडितहरु न्यायको खोजीमा थिए ।

भोजपुर प्रहरी प्रमुख डीएसपी शरद थापा क्षेत्रीले पीडितले दिएको जाहेरी र उपलब्ध प्रमाणका आधारमा पक्राउ गरेर विश्वकर्माविरुद्ध अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।