कोशी अस्पताल विराटनगरमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

विराटनगर २६ वैशाख । कोशी अस्पताल विराटनगरमा एक जना महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् ।

सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छात्तीदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् । जन्मिँदा तौल ३.४ किलोग्राम थियो । स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । टाउको, मुख, आँखा, नाक, कान, हात र खुट्टालगायतका बाहिरी अंगहरु जोडिएका छैनन् । शरीर जोडिएका जुम्ल्याहा जन्माएकी महिलाले प्रष्टसँग आफ्नो घर–ठेगाना बताउन सकिरहेकी छैनन् । परिवारका सदस्य र आफन्त पनि अस्पतालको सम्पर्कमा आइपुगेका छैनन् । जसका कारण घर–ठेगाना, परिवारका सदस्य, आफन्तदेखि लिएर सुत्केरीको अन्य पृष्ठभूमि यकिन गर्न अस्पताललाई मुस्किल परिरहेको छ ।

कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहका अनुसार सुत्केरीको आर्थिक अवस्था अति नै कमजोरजस्तो देखिन्छ । ‘सुत्केरी ब्यथाले च्यापेर अवस्था अन्तिम बनिसकेपछि अस्पताल भर्ना गरिएको थियो,’ उहाँले भन्नुभयोे, ‘शल्यक्रियामार्फत प्रसूति गराएर शरीर जोडिएका जुम्ल्याहा बच्चा बाहिर निकालिएको हो ।’ स्वास्थ्य अवस्था नाजुक देखिएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञको टोलीले तत्काल शल्यक्रिया गरिदिएको उहाँको भनाइ छ ।