विराटनगर २५ वैशाख । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले अब २० वर्षअघिका जस्ता बजेट बनाएर नहुने बताउनु भएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सो कुरा बताउनु भएको हो । ‘आगामी बजेटले प्रदेशको औचित्य पुष्टि गर्न सक्नुपर्छ । प्रदेश सरकारसँग जनताका आशा धेरै छन्,’ उनले भने, ‘धेरै छलफल भएर नीति तथा कार्यक्रम ल्याउनुपर्छ । प्रदेशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन मद्धत पुग्ने खालको बजेट आउनुपर्छ ।’
मन्त्री आचार्यले कोशी प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको प्रवद्र्धन आवश्यक देखिएको पनि बताउनुभयो । ‘पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ । उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुरक्षा चेकजाँचका नाममा नेपाल आउने पर्यटकलाई निरुत्साहित गर्ने र हतोत्साही बनाउने काम भइरहेको पनि पाइयो । यस विषयमा प्रहरीले ध्यान दिनुपर्छ ।’
पर्यटन प्रवद्र्धनकै लागि केही दिनभित्रमा विराट–बर्जु दौड प्रतियोगिताको आयोजना गरिने जानकारी उहाँले दिनुभयो । मन्त्री आचार्यले जनतामा सकारात्मक छाप छाड्न र प्रदेशलाई प्रभावकारी बनाउन अब सरकारले काम गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।