नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकलाई सुसूचित गराउन सरकार भन्दा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । ८ औं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । निर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न राष्ट्रिय पत्रकारिता दिवसले नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला प्रदान गरोस् भन्ने कामना उहाँले गर्नु भएको छ ।

संबैधानिकरुपमै व्यवस्थित गरिएका हकहरुको पूर्णरुपमा संरक्षण र कार्यन्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि कोशी प्रदेश सरकार प्रतिवद्ध र स्पस्ष्ट रहेको उहाँले बताउनुभएको छ । मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ,‘ सिमीत छापा माध्यमबाट सुरु भएको नेपाली पत्रकारिताले सूचना प्रविधिमा आएको विकाससँगै रेडियो, टेलिभिजन हुँदै अनलाइनमार्फत आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यसरी आफ्नो भूमिका निर्वाह गरिरहँदा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी हुन्छ । ’ इतिहासको छोटो अवधिमै सूचना, शिक्षा र मनोरञ्जनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक परिवर्तन, तथा सरकारलाई खबरदारी गर्दै राष्ट्रिय सङ्कटका बेला नेपाली समाजलाई एकतावद्ध वनाई राष्ट्र निर्माणमा नेपालीपत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको मुख्यमन्त्री कार्की बताउनु भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्रणवायु हो, यही कुरालाई हृदयगमगरि प्रेस तथाअभिव्यक्ति स्वतन्त्रता, सञ्चार, र सूचनाको हकलाई नेपालको संविधान २०७२ मा मौलिकहकको रुपमा व्यवस्था गरिएको सन्देशमा उल्लेख छ ।

नेपाल सरकारले २०७३ सालमा नेपालमा समाचार मुलकपत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन बैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारितादिवस’को रुपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्षको बैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारितादिवस’को रुपमा मनाइन्छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारलेपनि हरेक वर्ष प्रदेश भित्रका क्रियाशिल अग्रज पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ मार्फत सम्मानगर्दै आएको छ ।