बाल अस्पताललाई काँग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग

विराटनगर १६ वैशाख । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवहाक प्रमुख भिमप्रसाद पौडेलको रोहबरमा रतुवामाई – ७ स्थित विश्वनाथ शिवालय मन्दिरको सभाकक्षमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गर्दै मोरङ २ का पूर्व सांसद डा. रिजालले बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गर्नुभएको थियो ।

सो अस्पतालका सेवाबाट मोरङ २ का बासिन्दा पनि लाभान्वित हुने उहाँले बताउनुभएको छ ।