मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भएको छ ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो । “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,” नेता कोइरालाले भन्नुभयोे, “आर्थिक रुपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।” नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिनुभयो । उहाँले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गर्नुभयोे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गरे पक्कै पनि समाज समृद्धि हुनेछ,” कोइरालाले भन्नुभयोे, “राज्यले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण पनि गर्नुपर्छ ।”

विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहरुले सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको गुनासो गर्नुभयो । उहाँले घरपरिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा जोड दिनुभयो । विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क रुपमा ८ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको बताउनुभयो । उहाँले भवनको अर्को तला थपेर संग्राहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाउनुभयो । त्यसका लागि सहयोग गर्न गर्न संघीय र प्रदेश सांसदहरुलाई आग्रहसमेत गर्नुभयोे ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, सूचना अधिकारी इन्द्रप्रसाद खतिवडा, समाजसेवी शोभा कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक भवन निर्माणमा व्यक्तिगत रुपमा सहयोग गर्ने पूर्वमेयर पराजुलीलाई सम्मान गरिएको थियो ।