पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न सामाजिक विकास मन्त्री राजभण्डारीको आग्रह

विराटनगर ९ वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गर्नुभएको छ ।

कोशी प्रदेश नामकरणपछि पहिचानबादीले शुरु गरेको आन्दोलनप्रति लक्षित गर्दै मन्त्री राजभण्डारीले सो कुरा बताउनु भएको हो । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज आयोजना गरेको स्रष्टाहरुलाई सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री राजभण्डारीले भन्नुभयो,‘ हाम्रो प्रदेशमा विभिन्न जातजाति वसोवास गर्ने एउटा फुलवारी भएकोले साझा पहिचानको आधारमा कोशी प्रदेश नामकरण गरिएको हो ।’ आगामी दिनेमा हुने निर्वाचनमा प्राप्त गरिने दुई तिहाई मतको आधारमा संवैधानिक र कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा मन्त्री राजभण्डारीले २०५३ को मदन पुरस्कार प्राप्त गर्नु भएका समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राइलाई सम्मानित गर्नुभयो । देवकुमारी थापा स्मृति सम्मान बाट प्रा.डा. श्रेष्ठलाई ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मानबाट राईलाई नगद २५ हजार एवं सम्मानपत्रवाट सम्मान गरिएको छ ।

कार्यक्रममा गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकारहरु प्रमोद प्रधान,दधिराज सुवेदी, विवश पोखरेल, दिनेश सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य ,कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने धारणा राख्नु भएको थियो । सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गर्नु भएको ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन गर्नु भयो ।