उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने छ : मुख्यमन्त्री कार्की

विराटनगर ६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने बताउनु भएको छ । आगामी नीति तथा कार्यक्रममा प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने गरिको कार्यक्रम र बजेट ल्याउने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले बार्षिक कार्यक्रम अन्र्तगत १४ वटै जिल्लाका उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रमका मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ कार्यक्रमका लागि बजेटको आकार सानो हुन सक्ला, थैली सानो होला तर रोजगारमुलक कार्यका लागि बजेट विनियोजन हुने छ ।’ सामाजिक विकास मन्त्रालयले गरेको सम्मानले महिलालाई अघि बढ्न आँट भरोसा दिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ महिला उद्यमी भएको ठाउँ, अगुवाई गरेको स्थानहरुले सफलता प्राप्त गरेका छन् ।’ सरकारले कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका तीनै भेगका जनतालाई लक्षित गरेर रोजगारमुलक कार्यक्रम ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रका बासिन्दामा बसाँइसराइको बढ्दोक्रम रहेकाले यसको नियन्त्रणका लागि रोजगारमुलक कार्यक्रम ल्याउने योजना बनाएको उहाँको भनाई छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले महिला उद्यमीहरुलाई प्रोत्साहनका लागि सरकारले काम गरेको बताउनुभयो । प्रतिनिधिमुलक रुपमा एक जिल्लाबाट दुई जना मात्रै सम्मानित हुँदा पनि उद्यमका क्षेत्रमा काम गरिरहेकाहरुलाई प्रोत्साहन मिल्ने उहाँको भनाई छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश उपाध्यक्ष सीता राई लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाहरुबाट २९ जना उत्कृष्ट महिलाहरु छनौट गरि पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो ।

महिला उद्यमीहरुलाई ५० हजार नगद सहित सम्मानित गरिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले विगतका वर्षहरुदेखि नै उत्कृष्ट महिला उद्यमीहरुलाई छनौट गरि सम्मानित गर्दै आएको बताउनुभयो । सम्मानित भएका महिलाहरु बहुउद्यममा समेत रहेको महाशाखा प्रमुख बरालको भनाई छ ।